Overview Of Campus

Overview

भीमोदय बहुमुखी क्याम्पस पुरानो र गौरवपूर्ण इतिहास बोकेको भीमोदय माविको आधार स्तम्भमा वि.सं. २०६४ स्थापित त्रिविबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो । कक्षा ११ र १२ खोल्दा प्राप्त सफलता र समयको मागअनुरुप आम आवश्यकता बमोजिम खुलेको यस संस्थाले पूर्वोत्तर गोरखा र धादिङका दुर्गम क्षेत्रसम्म आफ्नो पहुँच स्थापित गरेको छ । विशेषतः आरुघाट क्षेत्र, यस आसपासका प्रबृद्ध व्यक्ति र भीमोदय माविमा अध्यापनरत शिक्षकहरुको सक्रियतामा जन्मिएको यस क्याम्पसबाट आज थुप्रै विद्यार्थीहरुले स्नातक डिग्री हासिल गरिसकेका छन् । ४ बर्से बी.बी.एस. र बी.एड. गरी दुई सङ्कायको पठनपाठन हुने यस क्याम्पसमा २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
आज मुलुकमा सरकारी क्याम्पस सहरकेन्द्री तथा राजधानीकेन्द्री छन् । सीमित मात्रामा रहेका यस्ता क्याम्पसको पहुँच दुर्गम तथा ग्रामीण भेगमा छैन । यता निजी लगानीमा स्थापित क्याम्पसहरु चर्काे शुल्कमा नाफामुखी ढङ्गमा खुलेका छन् । ती सर्वसाधारणको पहुँच बाहिर देखिन्छन् । अतः कम शुल्कमा गैरनाफामुखी तथा सेवामूलक ढङ्गमा सञ्चालित सामुदायिक क्याम्पस नै गरिब तथा विपन्न वर्गको पहुँचभित्र रहेको तथ्य छर्लङ्ग छ । यसै मर्मलाई हृदयङ्गम गरी शिरमा विश्व प्रसिद्ध मनास्लु हिमाल र काखमा पवित्र बुढी गण्डकी नदीलाई अँगालेको गोरखाको आरुघाट बजारमा ज्ञानरश्मि प्रवाहित गर्ने यस क्षेत्रकै दीपशिखा बनी उदाएको भीमोदय क्याम्पसले गुणस्तरीय शिक्षाको ज्योति छरिरहेको छ ।